(१) पेश्कीको रुपमा आफुले जिम्मा लिएको सरकारी रुपैयाको र उसको हिसाब किताब राख्ने समेतको व्यक्तिगत रुपबाट सम्पूर्ण उत्तरदायित्व जंगी अड्डा तथा सो मातहतको बाहिनी, युनिट, सव–युनिट, डिपो, विभाग तथा अड्डाहरुको प्रमुखको हुनेछ र नेपाल सरकार, रक्षा मन्त्रालयले कलम कलममा खर्च गर्नलाई दिएको स्वीकृतिको परिधिभित्र रही ती प्रमुखहरुले खर्च गर्नु पर्छ ।
(२) ती प्रमुखहरुले आर्थिक विवरणको शीर्षक अनुसार आम्दानी खर्चको हिसाब तोकिएको ढाँचा बमोजिमको फाराममा तुरुन्तै चढाउनु पर्छ ।
(३) ती प्रमुखहरुले कुनै कलममा खर्च लेख्नुभन्दा अगाडि त्यसलाई पूरा तबरले जाँच गर्नेछन् र नेपाल सरकार, रक्षा मन्त्रालयले खर्च गर्न निकासा भएको रकमबाट खर्च गर्न पुग्ने रुपैयाँ छ, छैन निश्चित गर्नेछन् । खर्च भएको सबै रसिद, बील, भरपाईहरुमा निजहरुले दस्तखत गरी प्रमाणित गर्नु पर्छ ।
(४) ती प्रमुखहरुले सरकारी कोषको खर्च तथा आम्दानी गर्ने आफ्नो मातहतका कर्मचारी उपर पूरा रेखदेख पु¥याई रुपैया पैसामा कुनै किसिमको धोखा, हिनामिना, हानी नोक्सानी वा लापरबाही समेत हुन नपाउने गरी सावधानी राख्नु पर्दछ र सरकारी रुपैया“ सुरक्षित राख्न उचित प्रबन्ध गर्नु पर्दछ । आफूले गर्नु पर्ने काम आफू मुनिका कर्मचारीद्वारा गरिएमा पनि निज प्रमुखको उत्तरदायित्व रही नै
रहनेछ ।
(५) ती प्रमुखले नेपाल सरकार, रक्षा मन्त्रालय कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर कार्यालयमा ढाचा बमोजिमको मासिक आर्थिक विवरण पठाउनु पर्छ । खर्च भएको जति सबै कलमहरुको बील, रसीद, भरपाईहरु वा अरु प्रमाण खर्च लेखिएको ३ दिनभित्र उक्त कार्यालयमा चलान गर्ने उत्तरदायित्व पनि निजको हुनेछ ।
(६) हिसाब राख्ने र तत्सम्बन्धमा विवरण पेश गर्ने तरिका बारेको कार्यविधि सम्बन्धी अर्डर निर्देशनहरुको पूरा जानकारी ती प्रमुखहरुले राख्नु पर्छ ।
(७) ती प्रमुखहरुले आफ्नो अख्तियारभन्दा माथिको ठेक्कामा मालसामान खरीद गर्दा नेपाल सरकार, रक्षा मन्त्रालय कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स कार्यालयमा स्वीकृतिलाई पेश गर्नु पर्छ ।